काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका आशा एवं अपेक्षाहरू पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले देशको अगाडि देखापरेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।

“आन्दोलनका नेताहरूले अझ ठुलो परिवर्तनका निम्ति एवं नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरि एक पटक सङ्कल्प लिन जरुरी छ, एकताबद्ध एवं केन्द्रित हुन जरुरी छ”, उनले भने ।

एक अर्काे प्रशंगमा देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै प्रचण्डले निराशा र अतिवादी प्रवृत्तिलाई परास्त गर्दै क्रान्तिकारी आशावादीका साथ सही विचार र राजनीतिक कार्यदिशा विकास गरेर कम्युनिस्ट एकता, राष्ट्रिय एकता एवं राष्ट्रको समुन्नतिको निम्ति स्पष्ट कार्यक्रम लिएर अगाडि बढ्न नेकपा एकीकृत समाजवादीलाई सुझाव दिए ।