काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार काठमाडौँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताए ।
‘‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन। कसैले जिद्दी गर्नुहुँदैन। अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो। उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्दछ। कृषिको आधुनिकीकरणले रोजगारीका थुप्रै अवसर सिर्जना गर्दछन्, कृषि आधारित ससाना उद्योग र त्यो बिस्तारै गएर ठुला उद्योगमा परिणत हुनसक्छ। कृषि आधारित उद्योगले निर्यातमूलक उद्योगको रूप लिनसक्छ’’, उनले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको उल्लेख गर्दै उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताए ।











