इन्द्रेणी संवाददाता
दाङ । आज १५ असार अर्थात राष्ट्रिय धान दिवस । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि’ भन्ने नाराका साथ २१ औं राष्ट्रय धान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

आजको दिनलाई किसानहरुले मानो छरेर मुरी उव्जाउने दिनको रुपमा पनि लिने गर्दछन् । असार १५ गते अर्थात आजको दिनमा धान खेतीको सुरुवाग गर्ने र मानो छरेर वर्षभरी खाने धान उत्पादन गर्ने गर्दछन् ।

दाङमा पनि जिल्लाका विभिन्न स्थानमा रोपाइ गरेर राष्ट्रिय धान दिवस मनाइदैछ । घोराही उपमहानगरपालिकाले घोराही १८ शंकेपिपल नजिकै धान रोपाइ गरेर धान दिवस मनाउदैछ । भने जिल्लाका विभिन्न ठाउँमा रोपाइ गरेर धान दिवस मनाउन लागिएको छ ।

सरकारले २०६१ सालददेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालेको हो । आजकै दिन दही चिउरा खाने चलन पनि छ । दिवसका दिन सम्बन्धित सरकारी निकायले धुमधामसँग यो दिवस मनाएपनि किसानहरुलाई वर्षेनी यो समयमा विउ, मललगायको समस्या हुने गरेको छ । सरकारले तामझामका साथ यो दिवस मनाएपनि किसानहरुले अपेक्षाकृत रुपमा सरकारबाट धान उत्पादनका लागि सहायता नपाएको पक्का हो ।

अहिलेसम्म देशभरी जम्मा १० प्रतिशत मात्रै रोपाइ भएको कृषि मन्त्रालको तथ्याङ छ । तर यसवर्ष समयमै मनसुन भित्रिएका कारण किसानहरुले धान खेती गर्न सहज हुने अपेक्षा गरेका छन् । नेपालमा ५७ लाख मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्याङ्क छ । तर यो नेपालका लागि अपुग नै छ । अझै ३ लाख मेट्रक टन धान उत्पादन भए मात्रै नेपाल धानमा आत्मनिर्भर हुने कृषि मन्त्रालयले बताउदै आएको छ ।