सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेशसभाको शनिवार सम्पन्न चौथो अधिवेशनको दशौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीद्वारा पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार र चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख बजेट प्रस्तुत गरे ।
गत आवमा ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारले यसवर्ष घटाएर बजेट ल्याएको हो । आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरणका लागि चार अर्ब ८३ करोड ८१ हजार बजेट विनियोजन गरिएको बताए छ।
आगामी आबका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ८३ करोड ४४ लाख ६५ हजार र चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित रकम पाँच अर्ब १३ करोड ८१ लाख २६ हजार परिचालन गरिएको मन्त्री केसीले बताए ।
सङ्घीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट नौ अर्ब ३८ करोड ५३ लाख र वित्तीय समानीकरण अनुदानतर्फको १० अर्ब ३६ करोड ६३ लाख, सशर्त अनुदानबाट तीन अर्ब ७१ करोड ५० लाख परिचालन गरिने छ । यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानतर्फ एक अर्ब २८ करोड ५० लाख र विशेष अनुदानतर्फ ६७ करोड ६५ लाख परिचालन गरिने बताइएको छ ।
