दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि बजेट सार्वजनिक गरेको छ । शनिवार सम्पन्न प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले ३८ अर्ब ९७ करोड बजेट सार्वजनिक गरेका हुन् ।

आचार्यले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ९४ हजार र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।

आर्थिक वर्ष २०८१/८२ बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा १ अर्ब ५१ करोडले घटेको छ । लुम्बिनी प्रदेशले नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार नै विगतका कार्यक्रमलाई निरन्तरता दिँदै कार्यक्रमलाई विस्तार गर्ने योजनाका साथ बजेट विनियोजन गरेको आर्थिक मामिलामन्त्री आचार्यले बताए ।