काठमाडौँ । बढ्दो गर्मीसँगै डेंगुका विरामी बढ्दै गएका छन्। यस वर्ष हालसम्म ७१ जिल्लामा डेंगुका विरामी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को विवरणमा उल्लेख छ । हालसम्म ७१ जिल्लामा १ हजार १३० जना डेंगुका विरामी भेटिएका छन्।
सबैभन्दा धेरै संक्रमण काठमाडौँ जिल्लामा देखिएको छ। काठमाडौँमा ११४ जना, झापामा १११ जना, चितवनमा ७३ जना, मकवानपुरमा ५८ जना विरामी भेटिएका छन्।
अरू जिल्लामा डेंगुका विरामीको संख्या ५० भन्दा कम छ तर हालसम्म यस वर्ष डेंगु संक्रमणबाट कुनै पनि विरामीको मृत्यु भएको छैन।
बाग्मती प्रदेशमा डेंगुका सबैभन्दा धेरै विरामी भेटिएका छन्। हालसम्म बाग्मती प्रदेशमा ३९० जना डेंगुका विरामी छन् भने कोशी प्रदेशमा २७२ जना, मधेस प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १७५ जना, लुम्बिनी प्रदेशमा १३२ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११५ जना रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ ।











