काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट चौथो पटक विश्वासको मत पाएका छन् ।

आज बसेको बैठकमा उनले लिएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शून्य मत परेको छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) बमोजिम विश्वासको मत लिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको होहल्ला र विरोध गरे पनि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रक्रिया सुरु गरेका थिए । कांग्रेस सांसदले सहकारी विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै विरोध गर्दै आएका छन् ।

बैठकमा १५८ जना सांसदको उपस्थिति रहेको थियो । जसपाले गत वैशाख ३१ गते सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिएका हुन् ।