काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बाट परीक्षण भइसके पनि नतिजा सार्वजनिक हुन बाँकी करिब दुई सय विद्यार्थीका उत्तरपुस्तिका हराएको छ । गत वैशाखमा सञ्चालित स्नातक तह पहिलो वर्षको जनसंख्या विषयका १८३ थान उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयबाटै गायब भएको हो । उत्तरपुस्तिका नै हराएपछि परीक्षा लिएको झन्डै एक वर्ष बित्न लाग्दा पनि नतिजा सार्वजनिक हुन सकेको छैन ।

गत वर्ष पनि उत्तरपुस्तिका हराएपछि विद्यार्थीको पुनः परीक्षा लिइएको थियो । बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका फेला नपरेपछि २०७९ पुसमा पुनः परीक्षा सञ्चालन गरेको थियो । २०७८ पुसमा सञ्चालित परीक्षाको उत्तरपुस्तिका हराएका कारण वर्ष दिनपछि करिब साढे २ सय विद्यार्थीको पुनः परीक्षा लिइएको थियो । पुनः परीक्षा लिनुपर्ने कारण भने पनिकाले खुलाएको थिएन । त्यतिबेला झापाको दमक बहुमुखी क्याम्पसका परीक्षार्थीको उत्तरपुस्तिका हराएको थियो आजको कान्तिपुरमा खबर छ। उनीहरूको पुनः परीक्षा लिएर नतिजा सार्वजनिक गरिएको हो । अध्यापकको लापरबाहीका कारण उत्तरपुस्तिका हराएको भए पनि कारबाही नगरी उन्मुक्ति दिइएको थियो ।

उत्तरपुस्तिका हराएको कुरा नतिजा सार्वजनिक गर्ने तयारी भएका बेला पत्ता लागेको पनिकाका एक कर्मचारीले कान्तिपुरलाई बताए । ‘परीक्षा सकिएर देशभरबाट उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ल्याइयो, त्यसपछि परीक्षण भएर पनि फिर्ता आएको देखिन्छ, सम्परीक्षण गर्ने बेलामा चाहिँ उत्तरपुस्तिका भेटिएन,’ ती कर्मचारीले भने, ‘जनसंख्या विषयको एक पोका उत्तरपुस्तिका नै हराएको छ ।