काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हतियार राख्न पाएको अनुमति प्रक्रियाका बारेमा सर्वोच्च छानबिन गर्न सरकारलाई आदेश दिएको छ । गत चैत ५ मा प्रसाईंका अंगरक्षकद्वय दीपक खड्का र रामकुमार धिमाल सर्वोच्चको परिसरमा हतियारसहित पक्राउ परेका थिए ।

सर्वोच्चले प्रसाईंले हतियार राख्न पाएको अनुमति प्रक्रियाका बारेमा प्रश्न उठाउँदै यस्तो आदेश दिएको हो । पक्राउपछि थुनामा रहेका प्रसाईंका अंगरक्षकद्वयका परिवारजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा बुधबार जारी आदेशमा प्रमुख जिल्ला अधिकारीले नकारात्मक सूचीमा राखिएको हतियारलाई बोक्न पाउने गरी दिएको अनुमतिपत्रका सम्बन्धमा गृह मन्त्रालयलाई अनुसन्धान गर्न भनिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले अंगरक्षकद्वय खड्का र धिमाललाई भने प्रचलित कानुनअनुसार अनुमति लिएरै हतियार बोकेकाले रिहा गर्न आदेश गरेको छ ।

जर्मनीमा उत्पादित अर्धस्वचालित बन्दुक झापा जिल्ला प्रशासन कार्यालयले २०७५ असार २१ मा ‘नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने’ भनी प्रसार्इँका नाममा अनुमति दिएको थियो ।