सुर्खेत । कर्णालीमा हरेक वर्ष एसइई दिने परीक्षार्थीहरूको सङ्ख्या घट्दै गइरहेको छ । गत वर्ष प्रदेशका ३८ हजार ९७० जना विद्यार्थी एसइईमा सहभागी बनेका थिए । यो वर्ष ३ हजार १६२ जना विद्यार्थीहरू घटेको देखिन्छ ।

प्रदेशको राजधानी सुर्खेतमा समेत गतवर्षभन्दा एक हजारभन्दा बढी विद्यार्थी घटेको देखिन्छ । गत वर्ष सुर्खेतबाट ९ हजार १३९ विद्यार्थीले एसइई दिएका थिए । प्रायः सबैजसो जिल्लामा विद्यार्थी सङ्ख्या घटेको देखिन्छ ।

हिमाली जिल्लामा पनि विद्यार्थीको सङ्ख्या घटिरहेको छ । गत वर्ष हुम्लामा १ हजार २३४ विद्यार्थीले एसइई परीक्षा दिएका थिए भने मुगुमा १ हजार ६६६ र डोल्पाका ६९८ जना परीक्षार्थी थिए ।

कालिकोटमा ३ हजार ७६६, जुम्लाका २ हजार ८७७ जना परीक्षार्थी छन् । जाजरकोटमा ४ हजार ६५६ र २४ वटा परीक्षा केन्द्र रहेको दैलेखमा ५ हजार ७३५ परीक्षार्थी छन् । विद्यार्थीको सङ्ख्या घट्नुको पछाडि गरिबी जोडिएको छ ।

आर्थिक अभावका कारण कतिपय विद्यार्थी ७–८ कक्षा पढ्दापढ्दै स्कुल छाड्ने गर्दछन् । तर सम्पन्न तथा जागिरे आमाबुबाहरू सरकारी विद्यालय भन्दा निजीतिर आकर्षित हुनाले पनि सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको सरोकारवाला बताउँछन् ।