काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बुधबार विहान बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बोलाइएको छ।
राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।
त्यसैगरी आगामी आव २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुनेछ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्ने पनि कार्यसूचीमा उल्लेख छ।











