काठमाडौं । रोजगारीका लागि रुसी सेनामा भर्ती भएका थप १६ नेपालीको मृत्यु भएको छ । रुसको विदेश मन्त्रालयले गत २३ फागुन (मार्च ६) मै मस्कोस्थित नेपाली राजदूतावासलाई पत्राचार गर्दै गराएको जानकारी कन्सुलर सेवा विभागमा पुगेको छ । यससँगै रुसी सेनामा रहेका ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ ।
यसअघि १७ नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । मस्कोस्थित नेपाली राजदूतावासले १ चैतमा कन्सुलर सेवा विभागलाई चिठी पठाएर १६ जनाको शव पहिचानका लागि परिवारका सदस्यको डिएनए नमुना संकलन गर्न आग्रह गरेको छ । स्वदेशमा रोजगारीको अवसर नपाउदा नेपालीहरु विभिन्न देश हुँदै रुसी सेनामा समेत अबैधानिक रुपमा भर्ती भइरहेका छन् । रुसी सेनामा भर्तीका लागि नेपालले भने अनुमति दिएको छैन ।











