कास्की । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् ।
सूर्यदर्शनबाट ३० करोड, चितवन सहाराबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिमबाट १० करोड ७४ लाख गोर्खा मिडिया नेटवर्कमा बिनाधितो, बिनाप्रक्रिया र गैरकानुनी रूपमा सारिएको विषयमा गम्भीर अनुसन्धान नभएको भन्दै पीडितहरूले गुनासो गरेका छन् ।
पत्रकार महासंघ कास्कीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आइतबार उद्योग वाणिज्य संघको हलतर्फ जाँदै गरेका प्रधानमन्त्रीलाई बाटोमै भेटेर पीडितले ज्ञापनपत्र बुझाएका हुन् । ‘प्रधानमन्त्रीलाई बाटोमै ज्ञापनपत्र बुझायौं, उहाँले कुन सहकारी हो भनेर सोध्नुभयो । हामीले अपचलनमा गृहमन्त्री संलग्न रहेको सूर्यदर्शन सहकारी भन्यौं,’ सहकारीपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न र गृहमन्त्री लामिछानेलाई पनि छानबिन गर्न अनुरोध गरेका छौं ।’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सहकारीको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएकाले छिट्टै नीतिगत निर्णय लिने बताए ।
कान्तिपुरबाट
