काठमाडौं । नेपाल टेलिकमका प्राविधिक अधिकृत निर्मल प्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सिटौलाले साविक नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ८१९३० र हाल प्रचलित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०७८ को विनियम १०१ बमोजिम व्यापार व्यवसाय सञ्चालन गर्न वा बाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानूनी प्रावधान विपरीत कार्य गरेको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
सिटौलाले नेपाल टेलिकमको बिना स्वीकृति निजी कम्पनी हिम्डङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालि. को शेयर खरिद गरी संस्थापक शेयरधनी बनी कम्पनीमा निर्देशकको हैसियतमा सो कार्य गरेको उल्लेख छ । आर्थिक वर्ष २०६९/७० देखि काम गरिरहेको, पारिश्रमिक बापत रकम बुझेको तथा विभिन्न ठेक्कापट्टा समेतमा सामेल भई सो कम्पनीबाट ४५ लाख १७ हजार पाँच सय पारिश्रमिक तथा मुनाफाबाट प्राप्त आय एक करोड १६ लाख दुई हजार ५०४ चार रुपियाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप सिटौलालाई लागेको छ ।
