दाङ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । शुक्रवार रातिबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र गरी ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५७ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५८ रूपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने निगमले यथावत नै राखेको जनाएको छ ।