काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रले नारायण दाहाल उम्मेदवार बन्दै छन् भने नेपाली कांग्रेसबाट युवराज शर्मा उम्मेदवार बन्दैछन् । राष्ट्रिय सभा अध्यक्षको लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ । माओवादी केन्द्रले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ भने काग्रेसले शर्मालाई बनाउने निर्णय गरेको छ ।
माओवादीका धेरैजसो नेताहरुले ६ वर्षे कार्यकाल भएकाबाट अध्यक्षको उम्मेदवार बनाउन दबाब दिए पनि अन्नतः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइसमेत रहेका दाहाललाई उम्मेदवार बनाउने निर्णय भएको हो । पार्टीको यो निर्णयमा माओवादीका केही नेताहरुले असन्तुष्टि जनाएका छन् । राष्ट्रपतिबाट मनोनीत दाहालको कार्यकाल चार वर्षपछि सकिँदैछ ।
त्यसैगरी कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रिय सभा अध्यक्षका लागि भोलि मात्रै निर्वाचन हुँदैछ ।
