काठमाडौं । नेपाली कांग्रेससँगको लामो सहकार्य तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता नभएर देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने भएको बताएका छन् ।
आज संसदमा उठेका विषयमा जवाफ दिदै प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको दावी गरे । “मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ,” उनले भने, “गठबन्धनका सबै घटकका तर्फबाट म सङ्कल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ ।”
आफूले सरकारको गतिसँग असन्तुष्ट छु भनेर पटक पटक भन्दा पनि काग्रेसले नसुनेका कारण उसँगको गठबन्धन तोडिएको उनको भनाइ थियो । आफूले चालेका कदम देश र जनताको हितमा रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने “कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ ।”











