काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई अध्यक्षको मान्यता दिएन ।
पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि आज आयोगले निर्णय गर्दै ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि चौधरी अध्यक्ष बन्न अयोग्य रहेको ठहर गर्दै अध्यक्षमा मान्यता नदिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अदालतको फैसला, पार्टीकै विधान र अन्य कानुन र नजिरहरू समेतको आधारमा यो निर्णय भएको हो ।
२०८० साल जेठ २ मा सर्वोच्च अदालतले कैलाली टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । तर त्यसको दुई हप्ता नबित्दै गणतन्त्र दिवसका दिन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको सजाय माफी गरेका थिए ।











