काठमाडौं । बाबुराम भट्टराईले आफ्ना सांसदलाई नेकपा (माओवादी केन्द्र) बाट छुट्याएर आफ्नो दल नेपाल समाजवादी पार्टीलाई छुट्टै मान्यता प्रदान गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् ।
गत माघ २८ गते नै समाजवादीले संसद सचिवालयलाई आफ्नो दलका जनप्रतिनिधिहरुको अभिलेख कायम गरिदिन पत्राचार गरेको देखिएको छ । माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएको समाजवादीमा दुई सांसद छन्। उनीहरु माओवादी संसदीय दलकै सदस्यका रुपमा राखिएको छ ।
माओवादीको चुनाव चिन्हबाट जितेका समाजवादीका अर्का अध्यक्ष महिन्द्र राय यादव र उमरावती देवी प्रतिनिधि सभा सांसद छन्। पत्रमा प्रदेश सभाका दुई सदस्यको विवरण पनि उल्लेख छ। बागमती प्रदेश सभाका गंगानारायण श्रेष्ठ सिन्धुली–२ (ख) बाट विजयी भएको र फणिन्द्र देवकोटा गोरखा–२ (ख) बाट निर्वाचित भएको व्यहोरा पत्रमा उल्लेख गरिएको पाइएको छ।
