काठमाडौं । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ (क) मा वैशाख १५ गते निर्वाचन गराउने निर्णय भएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा एमाले का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएको थियो ।