कालीकोट । लोकतन्त्रपछि नेताहरुले विकासका ठूला गफ दिइरहेका बेला देशका यस्ता ठाउँ पनि छन् कि अझै नागरिकले आवश्यकता अनुसार ननु नै पाउदैनन् । यसको उदाहरण हो सुदुरपश्चिमको कालीकोट । कालीकोटमा नुन आपूर्ति सहज नभएपछि जिल्लामा नुन अभाव हुन थालेको छ ।
यहाँका नागरिकहरु नुन लिन नागरिकता बोकेर जानुपर्ने बाध्यता छ । त्यति हुँदा पनि एक सय रुपियाँको ११ केजी नुन लिन दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । नागरिकताको प्रतिलिपि लिएर गएपछि एक व्यक्तिले सय रुपियाँमा ११ केजी नुन प्राप्त गर्छन् । केही महिना प्रतिव्यक्ति पाँच किलो अर्थात् पाँच प्याकेट नुन पाउने गरेका सर्वसाधारणले अहिले कोटा थपिएपछि ११ प्याकेट प्राप्त गर्ने गरेका छन् ।
कालीकोटको खाँडाचक्र नगरपालिका–१०, चौकीका ६२ वर्षीय जगबहादुर शाही नागरिकताको प्रतिलिपि नहुँदा नुन लिनबाट वञ्चित हुनुभयो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा डेढ घण्टा लाइनमा उभिएर पनि उहाँ नुनबिना घर फर्किनुभयो । पलाँता गाउँपालिका–५ की अस्मिता बमले दुई दिन लगाएर ११ केजी नुन लिन सदरमुकाम मान्म आएको बताए । नुन लिन नेपाली नागरिकता अनिवार्य गरिएकोमा सर्वसाधारणले दुःख व्यक्त गरेका छन् । शुभकालिका गाउँपालिकाकी नान्धरा शाहीले काखमा बच्चा च्यापेर नुन लिन आउँदा नागरिकता नभएपछि नुन पाउन नसकेको बताए ।
