दाङ । हिजो बिहीबार मात्र सर्लाहीको हरिवनबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट एक लाख ७२ हजार नक्कली नेपाली नोट समेत बरामद गरेको छ ।
खानतलासका क्रममा प्रहरीले २१ बन्डल नक्कली हजार दरका नोटको साइजमा कटिङ गरिएको कागज पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक अनिलराज गिरीले बताएका छन् । इन्स्पेक्टर गिरीका अनुसार तल्लो र माथिल्लो भागमा नक्कली हजार दरका नोट राखेर २० वटा टेष्टी बिस्कुटको पुरिया समेत फेला परेको छ ।
पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका–२ का ३६ वर्षीय सञ्जय सहनी र सर्लाहीको बलरा नगरपालिका–७ का २३ वर्षीय अमरेन्द्र महरा रहेका छन् ।
भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग गर्ने र सीमा क्षेत्रको बाटो हुँदै अन्यत्र समेत नोटको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ ।











