इन्द्रेणी संवाददता
दाङ, १३ साउन
बिप्लव माओबादी निकट अखिल क्रान्तिकारीले यहि साउन ३१ र ३२ गते शैक्षिक हड्तालको घोषणा गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी अखिल क्रान्किारीले आम शैक्षिक हड्तालको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले शिक्षा मन्त्रालयले सीबीएसईको पाठ्यक्रम संचालन गरिरहेका देशभित्रका शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिएर राष्ट्रघाती कदम चालेको भन्दै आपत्ति जनाउनुभयो ।
‘ठूलो रकम घुस खाएर शिक्षामन्त्रीले देशभित्रका भारतीय स्कूलहरुलाई सम्बन्धन दिएका छन् । यो राष्ट्रघाती कदम हो । उक्त सम्बन्धन तत्काल खारेज गर्नुपर्छ’ सिंहले भन्नुभयो– खारेज नगरे यसविरुद्धको आन्दोलन आँधीबेहरीबाट ठेगान लगाउँछौं ।’सीटीईभीटीले जानीबुझी हजारौं विद्यार्थीलाई प्राविधिक कोर्स अध्ययन गर्नबाट बन्चित गरिरहेको बताउँदै अध्यक्ष सिंहले सीटीईभीटीलाई अध्यायनको ढोका खोल्न र चर्को शुल्क उठाउन बन्द गर्न आग्रह गर्नुभयो ।
सरकार, सीबीएसई र सीटीइभीटीले जनतामाथि गरिरहेको अन्याय, अत्याचारको क्रान्तिकारीले राम्रोसँग हिसाबकिताब गरिहेको उहाँको भनाइ छ ।सोही क्रममा क्रान्तिकारीले १८ देखि असोज १५ गतेसम्म तीन महिने ‘समान शैक्षिक अधिकारका लागि एकीकृत राष्ट्रिय विद्यार्थी अभियान’ कार्यक्रम संचालन गर्ने कार्यक्रम तालिका पनि सार्वजनिक गरेको छ ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को उपस्थिति सम्पन्न केन्द्रीय समितिको उक्त बैठकले भारतीय शैक्षिक बोर्ड सीबीएसईको पाठ्यक्रम संचालन गरिरहेका देशभित्रका मोर्डन इण्डियन स्कूललगायत दर्जनभन्दा बढी शैक्षिक संस्थालाई शिक्षा मन्त्रायले दिएको स्वीकृति खारेज, मेडिकल कलेजहरुमा भइरहेको दलालीकरणको अन्त्य, विदेशी सम्बन्धन लिएका कलेजहरुले जारी राखेका पूँजी र प्रतिभाव पलायन जस्तो राष्ट्रघाती हर्कत रोक्न, सीटीईभीटीले प्राविधिक शिक्षा अध्ययन गर्न विद्यार्थीलाई बन्चित तथा चर्को शुल्क लिने कदमको अन्त्य, निजी कलेज तथा विद्यालयले गरेको चर्को शुल्क वृद्धिको खारेजी, शैक्षिक कन्सल्टेन्सीहरुले गरिरहेको भर्तीकेन्द्र र दलाली तत्काल बन्द गर्नुपर्ने मागसहित सशक्त संघर्ष गर्ने निर्णय लिइएको छ ।
सोही माग पूरा गराउन साउन १७ गते सरकारलाई असमान शैक्षिक प्रणाली र व्यापारीकरणबारे ज्ञापनपत्र बुझाउने, साउन २८ गते अन्तरक्रिया कार्यक्रम गर्ने, साउन ३० गते देशव्यापी प्रदर्शन गर्ने, साउन ३१ र ३२ गते दुई दिनसम्म देशभर आम शैक्षिक हडताल गर्ने निर्णय भएको अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले जानकारी दिनुभयो ।।