काठमाडौं । रकम लिएर लागू औषधका थुनुवालाई भगाइ आफूसमेत फरार रहेका प्रहरी जवान पक्राउ परेका छन् । आज शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी तत्कालिन प्रहरी जवान वीरबल राय यादव १६ वर्षपछि पक्राउ परेको बताएको छ ।

उनी पथरावुधाम ३ रौतहटका हुन् । उनले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी हिरासत कक्षबाट हत्कडीसहित बाहिर निकाली फरार गरेको अभियोगमा १६ वर्षपछि भारत सिमानाको काँकडभिट्टाबाट माघ ११ गते पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेले बताए ।

यादवले तत्कालीन समयमा एक करोडबाट सुरु गरी १० लाखमा डिल गरी ६ लाख २५ हजार पाएको प्रहरीले जनाएको छ । बताएको छ । पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि माघ १२ गते प्रहरी परिसर काठमाडौं पठाइएको र निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने प्रहरीको भनाइ छ ।