कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका ७ पोखरीकोटमा निर्माण गरिएका नमूना बस्ती सञ्चालनमा आउन सकेका छैनन् । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमूना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा आउन नसकेका हुन् ।

विस २०७८ को बाढीपहिराले रास्कोटका जोखिममा परेका ७३ घर परिवारका लागि कर्णाली प्रदेश सरकारले नमूना बस्ती निर्माण गरेको थियो । नीलो जस्तापाताले सिँगारिएका एकनासका घरहरु आकर्षक देखिने पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमूना बस्ती रहेको स्थानीय नवराज शाहीले बताए ।

“विसं २०७७/७८ मा बाढीपहिराबाट पीडितका लागि प्रदेश सरकारले पहिलो पटक एकीकृत नमूना बस्तीको अवधारणा ल्याएको थियो”, उनले भने, “अहिले बाढीपहिरो पीडित पुरानै जोखिमाका घरमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लगाइएको छन् ।” पहिराले पूर्णरुपमा क्षति पुर्याएका ७३ परिवारका लागि आवास बनाइएकामा अहिले उक्त बस्तीमा १६ परिवार मात्र बस्ने गरेको नगरपालिकाले जनाएको छ ।

रास्कोट १, ३ र ७ का बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि प्रदेश सरकारले पाँच करोड बजेट छुटाएर सोही रकमबाट बस्ती निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए । “एकीकृत बस्तीको काम सकिएलगत्तै बस्ती बसाल्ने सोच थियो तर त्यो सफल हुन सकेन”, उनले भने, “खानेपानीलगायत केही भौतिक संरचना निर्माण गर्न बाँकी रहेकाले पीडित बस्न मान्नुभएको छैन ।” रासस