दाङ, १२ साउन । ब्लडक्यान्सर पीडित पत्रकार अर्जुन महराको उपचारका लागि संकलित १ लाख ११ हजार ५ सय रुपैयाँ पीडितलाई पठाइएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखामा मंगलबारसम्म जम्मा भएको सो रकम पीडित पत्रकारका बुवा दामबहादुर महराको खातामा जम्मा गरिएको हो ।

Arjun-Mahara

महासंघ, दाङ शाखाको पहलमा शुरु गरिएको पत्रकार अर्जुन महरा बचाउ अभियानका क्रममा जिल्लाका विभिन्न संघ संस्था तथा व्यक्तिहरुले उपलब्ध गराएको सहयोग रकम पीडितको बुवाको खातामा जम्मा गरिएको महासंघ दाङका कार्यवाहक उपाध्यक्ष लक्ष्मी आचार्यले बताउनुभयो । उहाँले सहयोगी सबैलाई आभार व्यक्त गर्नुभयो ।

त्यस्तै, लमहीस्थित रेडियो हाइवेले रु. १० हजार र लमही रातोडाँडानिवासी २५ जनाबाट उठेको १६ हजार ४ सय ५५ रुपैयाँ गरी २६ हजार ४ सय ५५ रुपैयाँ केपी घिमिरेको समन्वयमा पीडित महराकी आमालाई हस्तान्तरण गरिएको पनि आचार्यले जानकारी दिनुभयो ।

ब्लडक्यान्सर पीडित पत्रकार महरालाई सहयोग गर्न चाहनुहुने महानुभावले पीडितका बुवा दाम बहादुर महराको नाममा लक्ष्मी बैंक काठमाडौं रहेको खाता नं. ०१२२४११६४६१ जम्मा गर्न वा उहाँको फोन नंं. ९८४४९७१७८९ सम्पर्क गर्न सकिने आचार्यले जानकारी दिनुभयो ।

यसैबीच बुधबार पीडित महराको उपचारका लागि रेडियो हाम्रो पहुँच तुलसीपुरको समन्वयमा १० हजार ६ सय रुपैयाँ जम्मा भएको छ । उक्त रकम समाजसेवी टोपबहादुर महताराबाट ५ हजार, रेडियो हाम्रो पहुँचका समाचार प्रमुख नारायण भण्डारीबाट २ हजार, सोमिता सुनारबाट १ हजार १ सय, कार्यक्रम संयोजक बसन्त पौडेलबाट १ हजार, संवाददाता तुलसीराम वलीबाट १ हजार र प्राविधिक दिपा धितालबाट ५ सय रुपैयाँ जम्मा भएको हो ।

त्यस्तै, दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष मञ्जु बज्राचार्यले १ हजार ५ सय ५ रुपैयाँ सहयोग गर्नुभएको महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यले जानकारी दिनुभयो ।