काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) उत्पादनतर्फको भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनतर्फ २०२४ को रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । वैदेशिक रोजगार विभाग र दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) बिचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको हो ।

इपिएस शाखाका अनुसार आउँदो माघ ६ देखि भाषा परीक्षा सुुरु हुने र परीक्षा तीन चरणमा हुने छ । विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक लाख ६४ हजार जना भाषा परीक्षामा सहभागी हुन पाउने जानकारी दिए । पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ देखि हुनेछ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुनेछ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको बताए । पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइने छ ।

दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुनेछ ।