काठमाडौँ, १२ साउन ।  पार्टी एकीकरण गर्ने उद्देश्यले मङ्गलबार अलगअलग बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बैठक जारी रहेको छ । दुवै पार्टीको बैठकमा एकतासम्बन्धी अवधारणापत्र पेस गरी छलफल जारी रहेको जानकारी नेताहरूले दिनुभयो ।

f4ca3068c497420cd8c4afb2083a1653राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा एकतासम्बन्धी अवधारणापत्र प्रस्तुत भई छलफल जारी रहेको जानकारी प्रवक्ता ठाकुरप्रसाद शर्माले दिनुभयो । उहाँले बुधबार नै पार्टी अध्यक्ष चन्दले वरिष्ठ नेता पशुपतिशमशेर राणालाई अध्यक्षता हस्तान्तरण गर्नुहुने बताउनुभयो ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक र पार्टी एकतासम्बन्धी प्रतिवेदन पेस भई छलफल जारी रहेको जानकारी प्रवक्ता मोहन श्रेष्ठले दिनुभयो । दुवै पार्टीले बुधबार एकतासम्बन्धी औपचारिक निर्णय गर्ने जनाएका छन् ।।