काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीसहित नौ जनालाई थुनामै राख्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीलाई थुनामै राख्न आदेश दिएको हो ।
तर यो प्रकरणमा संलग्न भएको अहिले नै प्रमाण नदेखिएकाले टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई भने ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । तर पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने निर्णयमा भने न्यायाधीशको मत बाझिएको छ ।
एक जना न्यायाधीशले बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छुटाउन आदेश दिए पनि अर्का न्यायाधीशले थुनामै राख्न आदेश दिएपछि अब उनको मुद्दा अर्को इजलासमा जानेछ । जनक पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश गर्न र अर्का न्यायाधीश प्रकाश खरेल थुनामै राख्न आदेश भएकाले अब तेस्रो न्यायाधीशसमक्ष पेस हुने भएको छ । बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी भने धरौटीमा रिहा भएका छन् ।
शमशेर मियाँ, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेक नारायण रिजाल, टङ्क कुमार गुरुङ, केशव तुलाधर र रामशरण केसीलाई धरौटी तारेकमा राख्न आदेश भएको छ ।
