काठमाडौं । रुस-यूक्रेन युद्धामा रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको छ । २९ कात्तिक (तिहारको भाइटीकाको दिन) मा मृत्यु भएकोमा दुई सातापछि घटना सार्वजनिक भएको हो ।
मृत्यु भएको दुई सातापछि रुसी सेनाको हवाला दिँदै मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत परिवारजनलाई जानकारी दिएको छ । दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागलाई भने ८ मंसिरमै चिठी पठाएर जानकारी गराएको थियो ।
दूतावासका द्वितीय सचिव सुशील घिमिरेले विभागमा पठाएको विवरणमा स्याङ्जाको पुतलीबजार नगरपालिका– ५ ठूलास्वाँराका पीतम कार्की, दोलखाको मेलुङ गाउँपालिका– ६ सुनारपानीटोलका राजकुमार रोका र इलामको इलाम नगरपालिका– ५ का गंगाराज मोक्तानको मृत्यु भएको उल्लेख छ ।
नेपाली दूतावासले उनीहरूको मृत्यु कुन अवस्थामा भएको भन्ने खुलाएको छैन । कानुनी रुपमा नेपालीलाई रुसी सेनामा भर्ती हुन पाउने व्यवस्था छैन । तर विभिन्न समस्याका कारण विदेशिएका नेपालीहरु रुसी सेनामा पनि बाध्यतावस भर्ती हुँदै आएका छन् ।
