दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारका सचिवहरुलाई सेवा प्रवाहलाई छिटो छरितो गर्न निर्देशन दिएका छन् । विहीवार मुख्यमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकमा मुख्यमन्त्री चौधरीले सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयक मातहको कार्यालयहरुको सेवा प्रवाह प्रभावकारी बनाउन र छिटो छरितो बनाउन आबश्यक रहेको भन्दै सोही अनुसार गर्न निर्देशन दिए। “जिम्मेवारी पूणर्रुपमा निर्वाह गरौ सेवाग्राहीको सेवा र योजना कार्यान्वयनमा गम्भीर बनौ”, मुख्यमन्त्री चौधरीले भने, “काम छिटो छरितो गरौ र उपलब्धी बढाउ ।” उनले कार्यसम्पादनलाई प्रभावकारी बनाइ उपलब्धी बढाउन समेत आग्रह गरे । “अहिले प्रदेश सरकारको कार्य सम्पादन र उपलब्धी भने अनुसार राम्रो हुन सकेको छैन, अब त्यो अवस्था आउन दिनु हुदैन”, उनले भने, “सरकारको कामको गति सुस्त भयो, उपलब्धी बढाउ, भएको प्रगति सार्वजनिक गरौ ।”

चालु आर्थिक वर्षको अहिले सम्मको प्रगति, उपलब्धी र खर्च सन्तोषजनक नदेखिएको भन्दै मुख्यमन्त्री चौधरीले यसलाई गम्भीर रुपमा लिन आग्रह गरे । मुख्यमन्त्री चौधरीले अनावश्यक योजनाहरु भन्दा पनि आबश्यक योजनाहरु कार्यान्वयनमा चासो दिन समेत आग्रह गरे ।

बैठकमा प्रमुख सचिव राधिका अर्यालले मुख्यमन्त्री ज्यूको निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्यासम्पादन बढाउन आग्रह गरे । उनले अबको समय पूणर्रुपमा कार्यान्वयनको भएको हुदा त्यसमा दत्तचित्त हुन आग्रह गरे । मन्त्रालयका सचिवहरुले मन्त्रालयले योजना र बजेट कायौन्वयनका लागि नीति विधि हरु बनीसकोकोले अव काममा लाग्ने बताएका थिए ।