दाङ । दाङ प्रहरीले एक युवकलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाउने तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका ९ बस्ने वर्ष २४ का शैलेश शाह, घोराही १८ बस्ने २५ वर्षका मिस्चल बुढामगर र घोराही १५ वस्ने नवराज श्रेष्ठ रहेका छन् । उनीहरुले कार्तिक ३० गतेका दिन घोराही भतपुर बस्ने २१ वर्ष कृतिक रोका मगरलाई चक्कु प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुले १५ गोर्खा हस्पिटल नजिकै हिडिरहेका कृतिकको ढाडमाथि चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट घाइते भएका कृतिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ ।
