काठमाडौं– तिकारको मुख्य दिन, आज (बुधबार) भाइटीका मनाइँदैछ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन, भाइटीकामा दिदी–बहिनीले आफ्ना दाजु–भाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् अधिकारीले सुनाए।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ