काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विशिष्ट (भिआइपी) र अतिविशिष्ट व्यक्ति (भिभिआइपी) को मर्यादाक्रममा हेरफेर गरेको छ । गत ३ चैतमा राष्ट्रिय सभामा दर्ता भएको ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गरी समितिले सोमबार पारित गरेको हो ।
यसैक्रममा १०औँ वरीयतामै रहेका काठमाडौं महानगरपालिकाका मेयरलाई सात स्थान तल झारिएको छ । यसअघि प्रधानसेनापतिभन्दा अगाडिको वरीयतामा रहेका कामपा प्रमुखलाई विधायन समितिबाट पारित विधेयकमा उपरथी र एआइजीभन्दा अगाडि राखिएको छ ।
कामपा प्रमुख १७औँ वरीयतामा घटुवा हुँदा प्रधानसेनापति तीन स्थान खस्किँदै १३औँ स्थानमा पुगेका छन् । अन्य महानगरपालिका प्रमुखसमेत ११औँ वरीयतामा रहेकोमा अब उनीहरूलाई पनि कामपा समान १७औँ स्थानमा झारिएको छ । यसअघि कामपाभन्दा तीन स्थान तल १३औँ वरीयतामा रहेको दुवै प्रहरीको आइजिपी र अनुसन्धानको मुख्य निर्देशकलाई १६औँ स्थानमा झारिएको छ । यद्यपि, अब कामपा प्रमुखभन्दा एक स्थान माथि हुनेछन् । १३औँ स्थानकै उपमहानगरपालिका प्रमुख र १५औँ स्थानको नगरपालिका प्रमुखलाई समान १८औँ वरीयतामा झारिएको छ । १४औँ स्थानको उच्च अदालतका न्यायाधीश र मुख्य न्यायाधिवक्तालाई १७औँ वरीयतामा तल राखिएको छ । १६औँ स्थानमा रहेका गाउँपालिकाका अध्यक्ष, जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी (सहसचिव) लाई १९औँ वरीयतामा झारिएको छ ।
त्यसैगरी प्रधानन्यायाधीशलाई पाँचौँ नम्बरमा धकेलिएकोमा विधायन समितिले संशोधन गरी पुनः चौथो वरीयतामै कायम गरेको छ । वरीयताक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीपछि अब प्रधानन्यायाधीश राखिएको छ । यसअघिको विधेयकमा प्रधानमन्त्रीपछि चौथोमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष राखेर पाँचौँमा प्रधानन्यायाधीश राखिएको थियो । संविधानमै उल्लेखित चौथो वरीयता मिचेर विधेयक दर्ता हुँदा प्रधानन्यायाधीशसहित सर्वोच्चका न्यायाधीशहरूले सरकारसमक्ष असन्तुष्टि व्यक्त गरेका थिए ।
संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख, व्यवस्थापिका–संसद्को पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई सातौँ वरीयतामा बढुवा गरिएको छ । छैटौँ स्थानमा रहेका उपप्रधानमन्त्रीलाई आठौँ झारिएको छ । आठौँमा रहेका पूर्वप्रधानन्यायाधीशलाई छैटौँ स्थानमा अगाडि लगिएको छ ।
प्रचलित मर्यादामा आठौँ स्थानमा रहेका नेपाल सरकारको मन्त्री, प्रदेश सरकारको मुख्यमन्त्री, प्रतिनिधिसभाको उपसभामुख, राष्ट्रिय सभाको उपाध्यक्ष, सत्तापक्षको संसदीय दलका उपनेता, नेपाल सरकारका पूर्वउपप्रधानमन्त्रीलाई नवौँमा झारिएको छ । आठौँमै भएको व्यवस्थापिका–संसद्का पूर्वसभामुख, प्रतिनिधिसभाका पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई सातौँ स्थानमा अगाडि गरिएको छ ।
