कलैया । बाराको सदरमुकाम कलैयामा गोली हानी एक जना प्रधानाध्यापकको हत्या गरिएको छ । कलैया उपमहानगरपालिका ६ मदरसा टोलस्थित सोमबार दिउँसो करिब १ बजेको समयमा बाल एकता बोर्डिङ्ग स्कुलका संचालक एवं प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भनिने रुपेश सर्राफलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

सदरमुकाम कलैयाको मुख्यबजारमै उनलाई मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । ना. ५३ प. ९१२८ नम्बरको २२० सिसिको प्लसर मोटरसाइकलमा सवार भई अन्नपूर्ण स्वीट्सबाट मिठाई किनेर विद्यालय फर्किने क्रममा नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा सवार भएका चारजना अज्ञात समूहले सर्राफको टाउको र छातीमा तीन राउण्ड गोली प्रहार गरी फरार भएका थिए ।

कलैयास्थित एनआईसी एसिया बैंकको दक्षिणतर्फ मदर्शा टोल जाने बाटोमा उनीमाथि गोली प्रहार भएको हो । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगंजस्थित बयोधा अस्पतालमा लगिएको थियो । तर बयोधा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

यो घटनाले कलैयाको सुरक्षा व्यवस्थामाथि चुनौती थपेको छ । दिनदहाडै हतियारसहित हिँडेका अज्ञात व्यक्तिले प्रधानाध्यापक सर्राफलाई गोली हानेकोले कलैयाको सुरक्षा व्यवस्थाप फितलो भएको स्थानीयहरुले महसुस गर्न थालेका छन् ।