काठमाडौं । सत्तागठबन्धन र कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा हलचल आउने गरी कोशीमा सत्ता राजनीतिको कोर्स सुरु भएको छ । संघीय सरकारमा माओवादी नेतृत्वमा सरकार गठनका लागि सत्तागठबन्धनभित्र सहमति भए पनि एमालेको समर्थनमा कांग्रेसको डा. शेखर कोइराला समूहले मुुख्यमन्त्रीमा दाबी गरेको छ ।
मुख्यमन्त्रीका लागि दुई प्रदेश सभा सदस्यले हस्ताक्षरसहित दाबी पेस गरेको कोशी प्रदेश प्रमुख कार्यालयका शाखा अधिकृत रामकुमार श्रेष्ठले बताए ।
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका केदार कार्कीले आ–आफ्नै दाबीसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । आङ्बो र कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम दाबी पेस गरेका हुन् । माओवादीका इन्द्रबहादुर आङ्बोलाई कांग्रेस सत्ता पक्षको समर्थन छ भने कांग्रेसका केदार कार्कीलाई विपक्ष दल नेकपा एमालेको समर्थन छ । केदार कार्की शेखर कोइराराला इतरका हुन् ।











