पोखरा। नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् ।
गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् । शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गरे । म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको भूमिकामा थिए।
यस्तै पाँच सय ३४ मतसहित उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी भएभने उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले तीन सय ७२ मत प्राप्त गरे ।
सचिवमा धनञ्जय दवाडीले पाँच सय २० ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी रश्मी आचार्यले तीन सय ६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए । उपसचिवमा चार सय ९९ मतसहित दामबहादुर विक विजयी हुँदा उहाँका प्रतिस्पर्धी सन्तोष रावलले तीन सय ९७ मत प्राप्त गरे । उपसचिव महिलातर्फ पाँच सय ३१ मत ल्याएर मञ्जु गुरुङ विजयी भए भने उनका प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गरे ।











