बाँके । नेपालगञ्जमा आज पनि निषेधाज्ञा र कर्फ्यू जारी छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहान सूचना जारी गरी पुनः निषेधाज्ञा ​र कर्फ्यू लगाएको हो।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए। पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टास्न वा लेख्न तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै स्थानमा पाँचजनाभन्दा बढी जम्मा हुन नपाउने गरी निषेधाज्ञा लगाइएको हो। सामाजिक सञ्जालमा आएका विषयमा हिन्दु र मुस्लिम समुदायबीच सद्भाव भड्किन लागेपछि नेपालगञ्जमा कर्फ्यू लगाइएको हो।