काठमाडौं । हरके वर्षजस्तै सरकारले चाडपर्वकेन्द्रित सहुलियत (सुपथ) मूल्य पसल सञ्चालनमा ल्याउन लागेको छ । सरकारले यो वर्ष असोज २१ गतेबाट सुपथ पसल सञ्चालनमा ल्याउन थालेको हो । उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका संस्थानहरूमार्फत सुपथ मूल्य पसल ३ मंसिरसम्म सञ्चालन हुने छन् ।

सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँसम्म सस्तोमा बिक्री हुनेछ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडीहरू, फापरको दाना, चिनो, कागुनो र उवा, जिउँदो खसी, बोका तथा च्यांग्रा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ मा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । त्यस्तै, दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रति दुई सय ग्राममा २० र प्रति पाँच सय ग्राममा ५० रुपैयाँ छुट दिनेछ ।