काठमाडौँ । गठबन्धन सरकारको सबैभन्दा ठूलो दल कार्यशैलीप्रति असन्तुष्ट देखिएको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारको कार्यशैलीप्रति अधिकांशले असन्तुष्टि व्यक्त गरे।
पार्टीबाट दबाव दिएर सरकारलाई चुस्त बनाउने नभए नेतृत्व नै परिवर्तन गर्नेसम्मका मत पार्टी बैठकमा व्यक्त भएका छन् । तर कांग्रेस नेतृत्व वर्तमान गठबन्धनलाई भत्काउने ध्येयमा छैन । सरकारको कार्यशैलीप्रति मन नरमाए पनि यसैलाई काँध थापेर बस्नुपर्ने बाध्यता कांग्रेसमा देखिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार, माओवादीकै वरीष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालय, सरकारको कार्यशैली कछुवा गतिमा तर अपजस जति कांग्रेसको टाउकोमा, किन रु नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुको धारणा हो यो ।
कांग्रेसले गत साउनमा बसेको केन्द्रीय समिति बैठकको पहिलो निर्णयस्वरुप जनताले महशुस गर्नेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराएको थियो । तर यो २ महिनामा अत्याधिक मूल्यबृद्दि, अर्थतन्त्रका कमजोर सूचक र जनतामा बढ्दै गएको निराशाका कारण सरकारको डेलिभरी नदेखिएको अधिकांशको मत छ । आफ्नै बलमा बनेको सरकारले काम गर्न नसक्दा कांग्रेस बदनाम भइरहेको र यसबाट जोगिन नेतृत्वले सरकारलाई पर्याप्त दवाव दिन नसकेको आरोप पार्टीभित्र लागिरहेको छ ।
