इन्द्रेणी संबाददाता
दाङ, ११ साउन
लगातारको वर्षापछिको बाढीपहिरोको कारण देशभर गरी २४ जनाको ज्यान गएको छ भने २० जना बेपत्ता छन् । बाढीपहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएका छन् भने दजनौं बस्ती पहिरोको जोखिममा छन् । ३ दिनदेखीको बर्षाका कारण पहाडी क्षेत्रका खोलानाला बढेकोले तराइमा पनि डुवानको खतरा बढेको छ । प्युठानमा सोमबार रातिदेखिको अबिरल वर्षाका कारण ज्यान जानेको संख्या ८ पुगेको छ । १० जना बेपत्ता भएका छन् । झिमरुक नदीले बगाएर ल्याएका चार शव भेटिएको छ ।
पूजामा घर भत्किएर पुरिएका ३ जनालाई निकालिएको छ । त्यसैगरी लुङमा ४ जना बेपत्ता छन् । खवाङ गाविसमा ३ जना बेपत्ता भएका छन् । लुङ–६ बाहाने बजारमा घर भत्किँदा शोभा रिजाल पुरिएर बेपत्ता भएकी छन् ।
बाहानेकै सिमलबुटामा धोजबहादुर पुनको घर पहिरोले पुरिँदा डेरा गरी बस्ने अन्दाजी २५ वर्षकी काली परियार, किरण थापा र अरु दुई जना पुरिएका छन् ।प्युठान नगरपालिका–१३ सापडाँडामा ४ वटा घर भत्किएका छन् ।
स्याउलिवाङ–५ मा पहिरोका कारण १८ घर उच्च जोखिममा छन् । गाउँलेको सहयोगमा जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । पहिरोका कारण अर्खा–६ का ३० घर पनि उच्च जोखिममा छन् ।पहिरोले पुर्दा गुल्मीको हस्तिचौर गाविस १ मल्दीमा एकै परिवारका ३ र बिसुखर्क गाविसमा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । हस्तिचौरकी ४९ वर्षीय तुलसी दर्जी, उहाँकी आमाजु ६२ वर्षीय कालीका दर्जि र बुहारी १९ वर्षीय अस्मिता तथा बिसुखर्कमा गोपाल रानाका ८ वर्षीय छोरा सुजन र ६ वर्षीय छोरी सिमानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाईते हुनु भएको छ । बाढी र पहिरोका कारण गुल्मीमा एक दर्जन भन्दा बढी घर गोठमा समेत क्षती पुगेको छ । यस्तै, गुल्मीमा ५ जनाको ज्यान गएको छ भने यो दर्जनौ घर बगेका छन । यसैगरी, पाल्पामा ४ जनाको ज्यान गएको छ । भने मकवानपुरको ३ जनाको ज्यान गएको छ । बाढीपहिरोमा परी पूर्वमा ३ जनाको ज्यान गएको छ भने १० जना बेपत्ताछन । उत, अर्घाखाँचीमा खोलाएर बगाएर १ जनाको ज्यान गएको छ ।
रुपन्देहीमा तिनाउ नदीमा आएको बाढीले बुटवलको देवी नगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल बगाएको छ । उतपेखरामा पोखरामा १ को ज्यान गयो १ सय ३५ घर जोखिममा रहेका छन । कपिलवस्तुमा बाडगंगा नदीमा बाढी आएपछि २ सय घर बढी डुवानमा परेका छन् । रामेछापको भुजी गाविसमा पहिरोले ५ घर पुरिएको छ । यस्तै, पाँचथरको फिदिम नगरपालीका २ मा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।।