देउखुरी । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन हुने स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरेको छ । स्वास्थ्य मन्त्रालय र मन्त्रालय अन्र्तगतका निकाय तथा कार्यालयबाट कार्यान्वयन हुने सबै कार्यक्रमको मार्गदर्शनलाई मन्त्रालय तहमा छलफल गरी अन्तिम रुप दिइएको हो ।
स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका स्वास्थ्य निकायबाट आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन हुने एकिकृत स्वास्थ्य तथा सरसफाई र प्रादेशिक अस्पताल सुदृढिकरण कार्यक्रमसँग सम्बन्धित कार्यक्रमहरुको पारदर्शी, मितव्ययी, प्रभावकारी र व्यवस्थित सञ्चालनको सहजीकरणका लागि यो कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरीएको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले बताए ।
चालु आर्थिक वर्ष स्वास्थ्य मन्त्रालय तथा कार्यालयहरुबाट सञ्चालन हुने १७३ वटा कार्यक्रमको मार्गदर्शन माथि छलफल गरिएको छ । छलफलबाट अन्तिम रुप दिइएको स्वास्थ्य मार्गदर्शन मन्त्री स्तरीय निर्णयबाट स्विकृत गरी कार्यान्वयनमा ल्याइनेछ ।
स्वास्थ्य सचिव डा. जर्नादन पन्थीको अध्यक्षतामा भएको परामर्ष बैठकमा स्वास्थ्य मन्त्री राजु खनालले प्रचलित ऐन नियमको परिधिमा रहेर पारदर्शी, मितव्ययी र छिटो छरितो तरिकाले कार्यान्वयन हुनेगरि मार्गर्दशन र कार्यविधि तयार गरिनुपर्ने बताएका थिए ।
