काठमाडौं । ह्दयघाातका कारण निधन भएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहीबार राजकीय सम्मानसहित अन्त्येष्टि गरिदैछ । बिहान ११ बजे निजी निवास बालुवाटारबाट शवयात्रासहित पशुपतिस्थित आर्यघाटमा पुर्याएर हिन्दू तथा लिम्बू परम्पराअनुसार नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने गरी सरकारले तयारी गरेको छ ।
पूर्वसभामुख तथा एमाले उपाध्यक्ष नेम्वाङको शवयात्राको लागि रुट तय भएको छ । नेम्वाङको शवयात्राका लागि बालुवाटारस्थित निवासदेखि पशुपति आर्यघाटसम्मको रुट तय गरिएको एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ । नेम्वाङको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट तय गरिएको छ ।
उनको शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारीसाधन हुनेहरू शंखपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालयअगाडि) पुग्न हुन अनुरोध गरिएको छ ।
बुबाको निधनपछि नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन् । नेपाल आएलगत्तै एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उनीहरूले बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् । जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार नेपाल आइपुगेका हुन् । कान्छा छोरा सुहाङ मंगलबार अस्ट्रेलियाबाट आइपुगेका थिए । आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
