अभिषेक बोहरा / दाङ : भनिन्छ, हरेक अपराध र गल्तिलाई माफ गर्ने मात्र एक ब्यक्ति हुन्, ‘बा’ । हो, जसको रिसमा स्नेह र गालीमा आफ्नोपन हुन्छ, उहाँलाई ‘बा’भनिन्छ । ‘बा’ सबैका आर्दशका पात्र हुन् । तिनै आदर्श पुरुष ‘बा’ को मुख हेर्ने दिन आज सबै आफ्ना जन्म र कर्म दिने पितालाई सम्मान गरेर ‘बा’ को मुख हेर्दै कुशे औंशी मनाइरहनु भएको होला ।

छन त छन् बजारमा अरु पनि ‘बा’हरु । ती ‘बा’हरू जताततै भेटिन्छन् । कोही ‘बा’ सडक र चोकमा, कोही सन्तानका भोकमा । कोही ‘बा’ खाडीमा, कोही चिल्ला गाडीमा । दुवै ‘बा’हरू बस्ने भनेको चाहिँ भित्तामै हुन् । फरक यतिमात्रै हो, गाडीका ‘बा’ सडक र सामाजिक सञ्जालका भित्तामा, खाडीका ‘बा’ मनका भित्तामा ।

‘बा’ पनि थरिथरिका । एमालेका बा, ‘ओली बा’ ! काँग्रेसका देउवा ! माओवादीका प्रचण्ड बा–  ! राई–लिम्बूलाई मनपर्ने बा, तुम्बा ! प्रेमी जोडीका बा– चुम्बा ! धार्मिक बा– गुम्बा ! जागिरेका बा–सुब्बा ! जडिबुटीका बा– यर्सागुम्बा ! विद्यार्थीका बा– गुरूबा ! छोराछोरीका बा– जन्मदिने ‘बा’ ।

बा’ले हाम्रो निम्ति अनेक किसिमको जीवन बाँच्छन् । अहिले पनि कसैका ‘बा’ हिउँको कठ्यांग्रिदो चिसो ठन्डीमा होलान्, कसैका मरुभूमिको गर्मीमा । कसै–कसैका चाहिँ नेपालमै अवसरहरूसँग पैंठेजोरी खेल्दै होलान् ।बा, सन्तानको लागि कहिले टाढा हुन्छन्, कहिले नजिक । कहिले साथी त कहिले गुरुबा ।

समग्रमा  भन्नुपर्दा ‘बा’ संघर्ष, समर्पण र बाध्यताको एक शब्द हो । जसले आफ्ना सन्ताको लागि के–के चाहिँ गर्दैनन् ? सन्तानको जीतका लागि सबै कुरा त्याग्न तयार हुन्छन् । शिक्षा–दीक्षाका लागि आफ्नो गाँस कटाउँछन् । कैयौँ भारी बोक्नछन् अनि पसिनाको खोला बगाउँछन् । उकाली, ओराली र लेकबेसी धाउँछन् ।

‘बा’सँगको भावनात्मक सम्बन्ध, धारणा उमेरसँगै फेरिँदै जान्छ । हो, हामी ‘बा’लाई हामीले अनेक रुपमा देख्छौँ । विडम्बना के छ भने, जतिबेला ‘बा’को महत्व अनुभूत गर्न थाल्छौँ, त्यसबेला हामीसँग ‘बा’ नहुन पनि सक्छन् । त्यसैले त लेखक बुद्धिसागरले ‘कर्णाली ब्लुज’मा लेखेका छन्– जतिबेला मसँग बुबा हुनुहुन्थ्यो, त्यसबेला मैले उहाँलाई बुझिन । जतिबेला मैले बुबालाई बुझेँ, त्यसबेला मसँग बुबा हुनुहुन्थ्यो ।’

हामीमा बगेको रगत, अडेको संस्कार, गढेका सपनाहरू र सिकेको संर्घष हाम्रा ‘बा’कै कथा हुन् । जब जीवनमा दुःख आइपर्छ । संघर्षसँग परेट खेल्न थाल्छौँ, चोट लाग्छ । भन्छौँ– ऐया बा ! मरेनि बा ! यो शब्द भनेकोभन्दा पनि मनभित्रबाट अनायासै निस्कन्छ, शक्ति बनेर । त्यसैले त भन्छन्– ‘संघर्ष बा’बाट सिक्नु, संस्कार आमाबाट । बाँकी त दुनियाँले सिकाउँछ ।’!

बा–आमालाई जिउँदो भगवानको रुपमा नलिनेहरू पनि धेरै भेटिन्छन् । जब छोराछोरी आफैँ केही गर्न सक्षम हुन्छन्, तब अभिभावकलाई बिर्सिन्छन्, बेवास्ता गर्छन् । छोराछोरी भएपनि निःसन्तान जस्तो भएर कयौँ बसेका छन् ।अनि वर्षमा एकदिन मनाइने बुवाको मुख हेर्ने दिनचाहिँ सामाजिक सञ्जाल रंग्याउछन् । आ–आफ्ना ‘बा’लाई मनपर्ने मिठाई तथा भोजन गराएको तस्बिर छरपस्ट हुन्छ । अरूलाई देखाउनै लागि भएपनि ‘बुबाको मुख हेर्ने दिन’ मनाउँछौँ ।

यता, छोराछोरी सामाजिक सञ्जालका भित्तामा तस्बिर सजाएर ‘हेप्पी फादर्स डे’ भन्दै रमाएको हुन्छ, उता गाउँमा बुढा ‘बा’का आँखा छोरा वा छोरीको बाटो हेरेर रसाउँछ । यसरी ‘बा’प्रति सामाजिक सञ्जालमा राखिएका तस्बिर, ती गाउँमा भएका बाले हेर्न पाए कति खुसी हुन्थे ।

‘बा’को तस्बिर सामाजिक सञ्जालमा राख्नुलाई अन्यथा मान्न खोजेको होइन, तर तिनै बाको तस्बिर राखेर कुशे औँसी मनाउनेमध्ये कतिले ‘बा’लाई मनमा राखेका होलान् ? मेरो मनमा उब्जेको प्रश्न ? ‘बा’को हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने ‘बा’ । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै ‘बा’हरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला !

‘बुबाको मुख हेर्ने दिन’को आफ्नै विशेषता र महत्व छ । यो दिवस फेसन र  देखावटी नबनोस् ।  एक असल सन्तान बन्ने कोशिस गरौँ, आमाबुवाप्रति निभाउनुपर्ने कर्तव्य पालना गरौँ । सबै ‘बा’हरुलाई बुबा दिवसको अवसरमा सम्मान तथा शुभकामना !