काठमाडौं । विमानस्थलबाट ६० किलो सुन तस्करीको अनुसन्धानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अन्तिम चरणमा पुर्याएको छ ।
थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबारसम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ । अभियुक्त पक्राउ गरी अनुसन्धान सुरु भएको मंगलबार ५६ दिन पुग्नेछ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्नेछ । तर, तस्करीमा लगानी गर्ने नेपाली गिरोहसम्म भने प्रहरी अझै पुग्न सकेको छैन ।
सरकारी वकिलले पनि अध्ययनका लागि केही दिन मागेकाले मंगलबारसम्म सिआइबीले पहिलो चरणको अनुसन्धान टुंग्याउन लागेको हो । ३० भदौभित्र मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए । राजस्व अनुसन्धान विभागले गत २ साउनमा भन्सारबाट पास भएको करिब ६० किलो सुन बरामद गरेको थियो ।











