सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलङ्गवामा कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ ।

शनिबार बेलुका ५ बजेदेखि जारी गरिएको कर्फ्यू हटाएर आइतबार बिहान ८ बजेदखि भदौ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

निषेधाज्ञा अवधिमा कुनै प्रकारको भेला, जुलुस, बैठक तथा प्रदर्शन गर्न रोक लगाइएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी यादवले सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मलङ्गवा बजारक्षेत्रको पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट पेट्रोलपम्पसम्म निषेधाज्ञा जारी गरिएको बताए ।

शुक्रबार साँझ श्रीकृष्ण जन्माष्टमीको मुर्ति सेलाउनेक्रममा दुई समुदायबीच झडप भएको थियो । सोही विषयलाई लिएर विगत तीन दिनदेखि मलङ्गवा बजारक्षेत्र तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा पनि प्रदर्शन भने रोकिएको छैन् । आन्दोलित पक्षले निषेधाज्ञाकैबीच आइतबार पनि मलङ्गवा बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् ।

बेला–बेलामा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भइरहेको छ । आइतबार दिउँसो मलङ्गवा नगरपालिका –३, मा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएपछि ६ राउण्ड अश्रुग्यास र एक राउण्ड हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।