काठमाडौँ, ११ साउन । दुई समूहमा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अब एकीकरण हुँदा पनि दुई अध्यक्ष नै रहने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ हुनेछ । साथै, सो पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र कार्यकारी अध्यक्ष कमल थापा हुने गरी एकीकरणको अवधारणा अगाडि सारिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरणका लागि सैद्धान्तिक सहमति भइसकेको छ भने संयुक्त महाधिवेशन आगामी चैत मसान्तसम्म गर्ने प्रस्ताव गरिएको छ । एकीकरण प्रक्रिया अगाडि बढाउने उद्देश्यले आज दुवै पार्टीको अलग–अलग बैठक बस्ने र एकीकरणका लागि गठित संयुक्त कार्यदलको एकीकरणसम्बन्धी प्रतिवेदनमा छलफल गरिने जानकारी नेताहरूले दिनुभएको छ । एकीकरणका लागि गठित संयुक्त समितिले तयार पारेको एकताको अवधारणापत्र दुवै पार्टीका अध्यक्षलाई बुझाइसकिएको छ ।
राप्रपाका वरिष्ठ नेता राणाले आज बस्ने केन्द्रीय समितिको बैठकमा एकताका लागि तयार गरिएको अवधारणापत्र प्रस्तुत भई छलफलपछि पारित हुने र औपचारिक एकताका लागि अगाडि बढ्ने बताउनुभयो । उहाँले पार्टी एकता निश्चित भएको र पार्टीको अन्तरिम विधान बन्दै गरेकाले औपचारिक एकता हुनका लागि केही दिन लाग्ने जानकारी दिनुभयो ।।
