विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकबाट थापाले विश्वासको मत पाएका हुन् ।
सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत मत दिएपछि थापाले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री थापाको पक्षमा ४७ मत आएको थियो भने विपक्षमा ३० मत प्राप्त भएको छ । ९३ जनाको प्रदेश सभामा आज ७७ जना उपस्थित थिए ।
थापालाई विश्वासको मत पाउनुबाट रोक्न विपक्षी गठबन्धन एमाले र राप्रपाले उपसभामुख सिर्जना दनुवार सहित नौ जना प्रदेश सभा सदस्यलाई अनुपस्थित गराएको थियो । एमाले र राप्रपाले उपसभामुख दनुवार अनुपस्थित हुँदा ज्येष्ठताको क्रम अनुसार सभाको अध्यक्षता गर्नुपर्ने आफ्ना आठ जना सांसदहरुलाई अनुपस्थित बनाएका थियो ।
मतदानअघि बैठकमा सत्तापक्षका सांसदहरुले सरकार निर्माणको क्रममा सभाअध्यक्षले मत दिनु संविधान अनुसार नै भएको दाबी गरेका छन्। अध्यक्षता गरिरहेका मन्सुरीले मतदान गर्ने बेलामा पनि विपक्षी दलहरुले विरोध गरेका थिए ।
