दाङ । दाङ प्रहरीले व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ । भदौ ३ गते विहान घोराही उपमहानगरपालिका १३ सेवार सप्तरङ्गी टोलस्थित सर्मता डाँगीको घरमा डेरामा बस्दै आएका ४१ वर्षका जित बहादुर विकलाई अपहरण गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा घोराही १९ बस्ने २४ वर्षका हिरा सुनार, २३ वर्षका जिवन सुनार, ३४ वर्षका खिम बहादुर घर्ती, २० वर्षका मनोज घर्ती मगर र ३२ वर्षका दिपक सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अन्य दुई जनाको भने १८ वर्ष उमेर नपुगेकाले प्रहरीले नाम खुलाएको छैन ।

उनीहरुले अपहरण भएका विकलाई घोराही १९ मा स्थित थकालिकोटमा रहेको दिपक सुनारको खाली घर कोठामा बन्धक बनाएर राखेको अवस्थामा भदौ ४ गते विहान करीव साढे ३ बजेको समयमा प्रहरीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिएका छन् ।

विकलाई उनीहरुले कुटपिट समेत गरेको फेला परेको छ । उनीहरुलाई शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसुरमा दाङ देउखुरी जिल्ला अदालतबाट पाँच दिनको समय थप गरी अनुसन्धान भइहेको प्रहरीले जनाएको छ । उनीहरुले विकलाई किन अपहरण गरे भन्ने बारे भने प्रहरीले केही खुलाएको छैन ।