काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो चार दिनमा ६६ जिल्लाबाट एक हजार २४ जना डेंगु सङ्क्रमित थपिएको जनाएको छ ।

महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २९१, सुदूरपश्चिम प्रदेश १७३, गण्डकी प्रदेशमा १७१, कोही प्रदेशमा १५४, लुम्बिनी प्रदेशमा ११३, कर्णाली १६ र मधेश प्रदेशमा १४ रहेका छन् ।

हालसम्म सुनसरी जिल्लाबाट तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको मरासिनीले जानकारी दिए । यो सँगै ७० जिल्लामा पाँच हजार ६८८ जनामा डेंगु पुष्टि भएको छ । कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा तीन हजार ८२१ जनामा डेंगु पुष्टि भएको छ ।

यसैगरी, बागमती प्रदेशमा ९६२, गण्डकी प्रदेशमा ३५७, सुदूरपश्चिम प्रदेशमा ३२५ लुम्बिनी प्रदेशमा १७०, कर्णाली प्रदेशमा २६ र मधेश प्रदेशमा २७ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८७ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै चार हजार ९३९ जनामा डेंगु पुष्टि भएको छ ।

सुनसरी जिल्लामा सबै भन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् । सुनसरीमा तीन हजार ४४८, धादिङमा ६५५, कास्कीमा २०८, दार्चुला १९१, काठमाडौँमा ९६, म्याग्दीमा ५८, मोरङमा ५७, कञ्चनपुरमा ५७, झापामा ५६ जनामा डेंगु पुष्टि भएको छ ।